काभ्रेमा यस वर्ष सुन्तला उत्पादन १० देखि १५ प्रतिशतले बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोक, २१ मङ्सिर । यस वर्ष काभ्रेपलाञ्चोक जिल्लामा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण गरिएको छ। गत वर्ष बाढीपहिरोका कारण उत्पादनमा करिब सात प्रतिशतले गिरावट आएको थियो।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहँदा प्रारम्भिक तथ्याङ्कले गत वर्षको भन्दा उत्पादन बढ्ने देखाएको बताउनुभयो। उहाँका अनुसार, सुन्तला खेती प्रवर्द्धनमा स्थानीय तहको सहयोगले गर्दा यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको हो। बेथानचोकका अधिकांश बगैँचामा पुराना बोटहरू भएकाले उत्पादनमा केही कमी आएको पनि उहाँले उल्लेख गर्नुभयो।

कार्यालयका अनुसार, २०८१ मा सात हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि बाढीपहिरोले क्षति पुर्याउँदा ५०० मेट्रिकटन गिरावट आएको थियो। जिल्लाको करिब एक हजार ३०० हेक्टर (३० हजार रोपनी) क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। यस वर्ष करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान छ।

दवाडीले गत वर्ष सञ्चालन गरिएका सुन्तला सुधार कार्यक्रमले यस वर्ष राम्रो फल लाग्नेमा विश्वस्त रहेको बताउनुभयो। अघिल्ला वर्षहरूमा रोगकिराका कारण सुन्तला उत्पादनमा लगातार दुई प्रतिशतको हाराहारीमा गिरावट आउने गरेको थियो। केही वर्षअघिसम्म जिल्लामा वार्षिक ४० करोडभन्दा बढीको सुन्तला बिक्री हुने गरेको थियो।

जिल्लाको पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई सुन्तला उत्पादनका लागि विशेष पकेट क्षेत्र मानिन्छ। सुन्तला जोगाउन किसान जागरण अभियान तथा सुन्तला सुधार कार्यक्रममार्फत उत्पादन बढाउने लक्ष्य राखिएको थियो। यसअन्तर्गत बगैँचा स्याहारसम्भार, मलजल, रोगकिरा व्यवस्थापनलगायतका विषयमा तालिम सञ्चालन गरिएको थियो।

जागरण अभियानमा किसानलाई सुक्ष्म खाद्यत्वको अभाव, औँसा किराको प्रकोप र फल झर्ने समस्या न्यूनीकरणका लागि किटनाशक औषधि तथा प्रोटिन–ब्रेट वितरण गरिएको थियो। पुराना र समस्याग्रस्त सुन्तला बगैँचामा काटछाँट, ऐजेरु हटाउने, चुन र निलोतुथोको प्रयोग गरी पुराना बोटहरूलाई उत्पादनशील अवस्थामा फर्काउने उपचार गरिएको थियो। यसअघि जिल्लाभर करिब २० प्रतिशत बोटमा औँसा किराको प्रकोप देखिएको थियो, जसले १० प्रतिशत सुन्तला कुहिएर झर्ने गरेको थियो।