सिरहाको ग्रामीण भेगमा ४६० जनाको निःशुल्क उपचार
गोलबजार (सिरहा), २१ मङ्सिर । नेपाली सेनाले नागरिक र सैनिकबीचको सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने उद्देश्यका साथ सिरहाको ग्रामीण क्षेत्रमा बृहत् सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
सिरहाको चोहर्वा ब्यारेकस्थित श्री नं २७ वाहिनी अड्डाको आयोजनामा सुखिपुर नगरपालिका–१०, दहिपौडीमा एक दिने शिविर सञ्चालन गरिएको हो। ‘नागरिक सहयोग सेवा’ कार्यक्रमलाई जनस्तरमा प्रभावकारी बनाउने लक्ष्यसहित सहायक रथी समीर श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले स्थानीय श्री जनता माध्यमिक विद्यालयको प्रांगणमा शिविर सञ्चालन गरेको थियो।
विभिन्न संस्थाहरुको सहकार्य
ग्रामीण भेगका जनतालाई विशेषज्ञ सेवा प्रदान गर्न सेनाले विभिन्न स्वास्थ्य तथा सामाजिक संस्थाहरुसँग सहकार्य गरेको थियो। शिविरमा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मका चिकित्सक टोलीसहित सगरमाथा चौधरी आँखा अस्पताल, प्रादेशिक अस्पताल (लहान), फुलकमारी महतो मेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र (लहान), एनसिसी अलुमनाई एसोसिएसन नेपाल तथा हिमालय सुगर मिल प्रालिको सक्रिय सहभागिता रहेको थियो।
उपचार र सचेतना एकैसाथ
सहायक रथी समीर श्रेष्ठका अनुसार शनिबार आयोजित उक्त शिविरमा स्वास्थ्य उपचारका साथै जनचेतनामूलक कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको थियो। तराई मधेसमा जाडोयाममा हुने शीतलहरको जोखिम, गर्मीमा हुने आगलागी र सर्पदंशजस्ता दैविक प्रकोप तथा दुर्घटनाबाट बच्ने उपायहरूबारे स्थानीयलाई सचेत गराइएको थियो। साथै, नेपाली सेनामा भर्ना छनोट प्रक्रियासम्बन्धी जानकारी पनि शिविरमा प्रदान गरिएको थियो।
स्वास्थ्य सेवातर्फ आँखा, दाँत, छाला, प्रसूति तथा स्त्रीरोग र सामान्य चिकित्सा (ओपीडी) सेवा उपलब्ध गराइएको थियो भने रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
४६० जना लाभान्वित
शिविरबाट दहिपौडी र आसपासका क्षेत्रका विपन्न समुदाय प्रत्यक्ष लाभान्वित भएका छन्। दिनभर सञ्चालित शिविरमा २१६ महिला र २४४ पुरुष गरी जम्मा ४६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्।
विपन्न तथा स्वास्थ्य पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गरी आयोजना गरिएको यस प्रकारको शिविरले समुदायमा नेपाली सेनाप्रतिको विश्वास, पहुँच र सकारात्मक सोच अभिवृद्धि गर्न ठूलो मद्दत पुगेको नेपाली सेनाले विश्वास व्यक्त गरेको छ।