स्थानीय सरकारको स्वास्थ्य सेवा

बुढानीलकण्ठ नगर अस्पतालमा बर्थिङ सेन्टर सञ्चालन

काठमाडौँ, मंसिर २२ । बुढानीलकण्ठ नगर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै ‘बर्थिङ सेन्टर’ (प्रसूति सेवा) सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशसभा सदस्य अमन मास्केले उक्त सेन्टरको उद्घाटन गर्नुभयो । करिब डेढ वर्षअघि स्थापना भएको यस अस्पतालले छोटो समयमै सर्वसाधारणको विश्वास जित्न सफल भएको छ । सुरुवाती चरणमा सीमित स्रोतसाधनबाट सेवा थालेको अस्पतालमा हाल दैनिक ३ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

 उद्घाटन कार्यक्रममा बोल्दै बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले अस्पतालको संघर्ष र सफलताको कथा सुनाउनुभयो । “सुरुमा केही कर्मचारीले बहिरंग सेवाबाट ३ जनाको उपचार गरेर अस्पतालको यात्रा थालेका थियौँ। धेरैले अस्पताल चल्दैन कि भनेर शंका पनि गरेका थिए,” मेयर अधिकारीले भन्नुभयो, “तर आज हाम्रो नगर अस्पतालले चौबीसै घण्टा इमर्जेन्सीसहित दैनिक ३ सय नागरिकलाई उपचार सेवा दिइरहेको छ।” उहाँले बर्थिङ सेन्टरको सुरुवातसँगै अन्य सेवाहरू पनि विस्तार गर्दै लैजाने बताउनुभयो ।

२०८१ वैशाखदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यो अस्पताल सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिएको हो ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर अनिता लामाले बर्थिङ सेन्टरको स्थापना सामुदायिक स्वास्थ्य सेवाका लागि ‘कोशेढुङ्गा’ भएको बताउनुभयो । “सहरी क्षेत्र भएकाले घरमै सुत्केरी गराउने अवस्था छैन । अब नगर अस्पतालमै बर्थिङ सेन्टर थपिएपछि मातृशिशु स्वास्थ्यमा ठूलो सुधार आउनेछ,” उहाँले भन्नुभयो ।

सेवाग्राहीको सङ्ख्या बढेसँगै अस्पतालको आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल पोखरेलले गत आर्थिक वर्षमा १ करोड १७ लाख आम्दानी गरेको अस्पतालले चालु आर्थिक वर्षको ५ महिनामै १ करोड ८० लाख रुपियाँ आम्दानी गरेको जानकारी दिनुभयो ।

“सेवासँगै आम्दानी बढ्दा अस्पताल आर्थिक रूपमा सक्षम बन्दै गएको छ, यद्यपि सार्वजनिक स्वास्थ्यमा नाफा-घाटा मात्र हेरिँदैन,” पोखरेलले भन्नुभयो । हाल अस्पतालमा ७० जना कर्मचारी कार्यरत रहेको र थप सेवा विस्तारका लागि प्राविधिक जनशक्ति थप्ने तथा आवश्यक सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको उहाँले बताउनुभयो ।