विराटनगरमाथि सानदार जितसहित सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा
काठमाडौँ, २३ मङ्सिर । विराटनगर किङ्ग्समाथि ७७ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो । यता पराजित विराटनगर किङ्ग्सको भने यात्रा टुंगिएको छैन । विराटनगरले फाइनल प्रवेशका लागि अब ‘दोस्रो क्वालिफायर’ खेल्ने मौका पाउनेछ ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ५६ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव १ ओभरमा ७८ रनमै अलआउट भयो । विराटनगरको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले समान दुई–दुई विकेट लिए । विराटनगरका लागि कप्तान फाफ डु प्लेसिसले ३६ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमको इनिङ्स उकास्न विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ५२ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६३ रनको योगदान दिए ।
त्यस्तै, आसिफ शेख र शेरडोन ज्याकसनले समान २०–२० रन बनाए भने हरमित सिंहले १४ तथा इसान पाण्डेले १३ रन जोडे । बलिङतर्फ विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले २–२ विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट हात पारे ।