जनप्रेमीको खेलकुद सप्ताह सुरुः १८ सय विद्यार्थी प्रतिस्पर्धामा, दुई अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
भक्तपुर, २४ मङ्सिर । भक्तपुरको सानोठिमीस्थित जनप्रेमी वर्ल्ड स्कुलले आयोजना गरेको ‘जेडब्लुएस खेलकुद सप्ताह’ आजदेखि सुरु भएको छ । मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा आयोजित एक भव्य कार्यक्रमका बीच मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा विद्यालयका करिब एक हजार ८ सय विद्यार्थीले फुटबल, बास्केटबललगायत विभिन्न २० वटा खेल विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाइरहेको बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइरहेको उल्लेख गर्दै वडा तहदेखि नै प्रशिक्षण सञ्चालन गर्न र विद्यालयस्तरीय खेलकुदको विकास गर्न नगरपालिकाले वार्षिक बजेट नै विनियोजन गरेर प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।
विद्यालयका प्रिन्सिपल निलेश आचार्यले विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह मनाउँदै आएको जानकारी दिनुभयो । विद्यालय तहबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गरिएको उहाँको भनाइ छ । प्रतियोगिताका विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
एरिका र सानुमाया सम्मानित
खेलकुद सप्ताहको उद्घाटन समारोहमा हालै इजिप्टमा सम्पन्न विश्व च्याम्पियनसिप कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका दुई खेलाडीलाई सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रिय कराते खेलाडीद्वय एरिका गुरुङ र सानुमाया थिङलाई जनही रु पाँच हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो । विद्यालयका अध्यक्ष मनोज आचार्यले नगद पुरस्कार प्रदान गर्नुभयो भने नगर प्रमुख श्रेष्ठ र प्रिन्सिपल आचार्यले सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
सोही अवसरमा प्रिन्सिपल आचार्यले सम्मानित खेलाडीद्वय गुरुङ र थिङले आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेमा जनही रु ५० हजार पुरस्कार प्रदान गर्ने घोषणासमेत गर्नुभयो ।