हङकङ आगलागीमा मृत्यु भएकाकाे सङ्ख्या १६० पुग्यो
एजेन्सी, २३ मङ्सिर । हङकङमा भएको भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ। दशकौँयताकै यो सबैभन्दा घातक आगलागी हो। प्रहरीले मङ्गलबार एक अतिरिक्त शवको पहिचान भएपछि मृतक सङ्ख्या बढेको पुष्टि गरेको हो। यस घटनामा अझै ६ जना बेपत्ता छन्।
गत महिनाको अन्त्यतिर आवासीय भवनमा लागेको यो आगलागी सन् १९८० यताकै विश्वकै सबैभन्दा घातक आवासीय भवन आगलागी ठहरिएको छ। प्रभावित भवनहरूमा गरिएको खोजतलास सकिएपछि अधिकारीहरूले अघिल्लो हप्ता १५९ जनाको मृत्यु भएको बताएका थिए।
प्रहरी आयुक्त जो चाउका अनुसार, पहिले सङ्कलन गरिएको एउटा अवशेषमा थप परीक्षण गर्दा त्यसमा दुई व्यक्तिका अवशेष रहेको पुष्टि भएपछि मृतक सङ्ख्या १६० पुगेको हो। १६० मृतकमध्ये १२० जनाको पहिचान डीएनए र फिङ्गरप्रिन्ट परीक्षणमार्फत भइसकेको छ।
बाँसको बाहिरी संरचनाले ढाकिएका भवनहरूमा आगो अत्यधिक तीव्रतामा फैलिएको थियो। प्रहरीको क्याजुअल्टी इन्क्वायरी युनिट प्रमुख त्साङ शुक–यिनका अनुसार ६ जना अझै बेपत्ता छन्।
हङकङका प्रमुख कार्यकारी जोन लीले यस घटनाबारे छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन्।