आधुनिकताको चपेटामा भोजपुरको रैथाने ‘पानीघट्टा’, संरक्षण नहुँदा अस्तित्व सङ्कटमा
भोजपुर, २५ मङ्सिर । भोजपुरका ग्रामीण भेगमा कुटानीपिसानीको भरपर्दो माध्यमका रूपमा प्रयोग हुँदै आएको परम्परागत ‘पानीघट्टा‘ आधुनिकताको चपेटामा परेको छ। आधुनिक मिलहरूको बढ्दो प्रयोग र संरक्षणको अभावमा यो रैथाने प्रविधि क्रमशः लोप हुने अवस्थामा पुगेको हो।
भिरालो जमिनमा कुलोमार्फत पानी झारेर त्यसको वेगले पङ्खा घुमाइ ढुङ्गाको जातोको सहायताले अन्न पिस्ने यो प्रविधि कुनै समय ग्रामीण जीवनशैलीको अभिन्न अङ्ग थियो। मकै, गहुँ, कोदो, फापर तथा जौलगायतका अन्न पिस्न प्रयोग गरिने पानीघट्टालाई स्थानीयले सहज, सस्तो र सरल विकल्पका रूपमा लिने गर्दथे। तर, पछिल्लो समय डिजेल र विद्युतीय मिलको पहुँच विस्तारसँगै पानीघट्टा ओझेलमा परेका हुन्।
टेम्केमैयुङ–५ का स्थानीय बेनीबहादुर विष्टका अनुसार गाउँघरमा पानीघट्टा चलाउने चलन हराउँदै गएको छ। “पहिला टोलभरिका मानिस कुटानीपिसानी गर्न बिहानैदेखि पानीघट्टामा लाइन लाग्ने गर्थे,” विगत सम्झिँदै विष्टले भन्नुभयो, “अहिले यो पुरानो चलन एकादेशको कथा जस्तै हुन थालेको छ।“
विद्युतीय तथा डिजेल–पेट्रोलबाट चल्ने मिलको तुलनामा पानीघट्टा आर्थिक रूपमा निकै सस्तो पर्ने गर्छ। टेम्केमैयुङ–५ मै पानीघट्टा सञ्चालन गर्दै आउनुभएका हरिबहादुर लम्साल भने पुर्ख्यौली पेसा र परम्परा जोगाउनकै लागि आफूले यसलाई निरन्तरता दिएको बताउनुहुन्छ।
“आधुनिक प्रविधिको विकाससँगै यस्ता सामग्री हराउँदै गए पनि परम्परा जोगाउन मैले निरन्तर चलाइरहेको छु,” लम्सालले भन्नुभयो। उहाँका अनुसार पानी प्रशस्त भएको समयमा पानीघट्टाले दैनिक छ देखि आठ मुरीसम्म अन्न पिस्न सक्छ।
पानीघट्टामा पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुने स्थानीय बताउँछन्। आधुनिक मेसिनमा पिसिएको अन्न तातेर पौष्टिक तत्व नष्ट हुने भए पनि पानीघट्टामा प्राकृतिक चिसोपनमै पिसिने हुँदा अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरूको तर्क छ।
यद्यपि, पछिल्लो पुस्ताले यस्ता परम्परागत सीप र साधनप्रति कम चासो देखाउँदा यो प्रविधि सङ्कटमा परेको छ। स्थानीय मौलिक पहिचान बोकेको पानीघट्टाको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटन र रैथाने प्रविधिको जगेर्ना गर्न सकिने सरोकारवालाहरू बताउँछन्।