सगरमाथा दिवसको अवसरमा कायरोमा ‘नेपाल–इजिप्ट मैत्री दौड’ सम्पन्न

काठमाडौँ, बैशाख १२ । सगरमाथा दिवस तथा अन्तर्राष्ट्रिय आरोग्य दिवसको सुखद अवसरमा इजिप्टको राजधानी कायरोमा ‘नेपाल-इजिप्ट मैत्री दौड’ भव्यताका साथ सम्पन्न भएको छ। कायरोस्थित नेपाली दूतावासले इजिप्टको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा पाँच किलोमिटर लामो सो दौड आयोजना गरेको हो।

‘हिमालदेखि नाइलसम्म-हरित भविष्यका लागि दौडौँ’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल र त्यहाँको वातावरण मन्त्रालय अन्तर्गत संरक्षित क्षेत्रसम्बन्धी केन्द्रीय प्रशासनका प्रमुख मोहम्मद युसुफले संयुक्त रूपमा गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत लम्सालले सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको ऐतिहासिक दिनको स्मरण गर्नुभयो। उहाँले सगरमाथा दिवसलाई मानव दृढता, साहस र सहकार्यको प्रतीकका रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय आरोग्य दिवसले शारीरिक, मानसिक र पारिस्थितिक सन्तुलनको महत्त्वलाई उजागर गर्ने बताउनुभयो। साथै, नेपालको परम्परागत अभ्यासका रूपमा रहेका योग र ध्यानले मानव स्वास्थ्य र वातावरण संरक्षणबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उहाँको भनाइ थियो ।

सो अवसरमा प्रमुख अतिथि मोहम्मद युसुफले नेपाली दूतावासको यस पहलको उच्च प्रशंसा गर्दै कार्यक्रमले वातावरणीय सचेतना र दिगो विकासको बलियो सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो। उहाँले हरित भविष्य निर्माणका लागि इजिप्टको प्रतिबद्धता दोहोर्‍याउँदै वातावरणीय संरक्षणको क्षेत्रमा नेपालले पुर्‍याएको योगदानको सराहना गर्नुभयो ।

प्राकृतिक मरुभूमि पारिस्थितिकी प्रणाली र वन्यजन्तु संरक्षण गरिएको ‘वादी डेगला’ संरक्षित क्षेत्रमा आयोजना गरिएको यस दौडमा ३५० भन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञ, विद्यार्थी, स्थानीय खेलाडी तथा इजिप्टमा रहेका नेपाली समुदायका सदस्यहरूको उपस्थिति थियो ।

यस मैत्री दौडले नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउन र विश्वव्यापी वातावरणीय चुनौतीहरूका विरुद्ध ऐक्यबद्धता जनाउन महत्वपूर्ण भूमिका खेलेको दूतावासले जनाएको छ ।