भूकम्पीय जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र जनचेतना आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ, वैशाख १२  । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी उपाय, पूर्वतयारी र सुरक्षात्मक विधिबारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभएको छ । वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी ‘गोरखा भूकम्प’ को १०औँ स्मृति दिवसका अवसरमा एक विशेष सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले सम्बन्धित निकायहरूले पूर्वतयारी र प्रतिकार्यका उपायहरूमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धासुमन अर्पण गर्दै भूकम्पलाई रोक्न नसकिए पनि सम्भावित जोखिमबाट बच्न सकिने उल्लेख गर्नुभयो । “बढ्दो सहरीकरणले भूकम्पीय जोखिमलाई थप चुनौतीपूर्ण बनाएको छ,” सन्देशमा भनिएको छ, “हाम्रो भौगोलिक अवस्थिति र मानव निर्मित भौतिक संरचना नै जोखिमका प्रमुख कारण हुन्, त्यसैले सुरक्षित निर्माण र सतर्कताको अभियानमा निरन्तर लाग्नुपर्छ ।”

राष्ट्रपतिले नवनिर्मित र पुनर्निर्मित संरचनाहरूमा नेपाली मौलिकता झल्किनुका साथै अनिवार्य रूपमा भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनुपर्ने धारणा राख्नुभयो। उहाँले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापना कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुर्‍याउने सबै सहयोगी हातहरूलाई धन्यवाद समेत प्रकट गर्नुभएको छ ।

नेपाल प्राकृतिक प्रकोपको जोखिमयुक्त क्षेत्रमा रहेकाले सुरक्षित समाज निर्माणका लागि सरकारी र गैरसरकारी सबै पक्षको समन्वयकारी भूमिका हुनुपर्ने राष्ट्रपतिको सन्देशको मुख्य सार रहेको छ ।