बैतडीमा स्थानीयले थापेको पासोमा फस्यो चितुवा
काठमाडौँ, मंसिर २९ । बैतडीको सिगास गाउँपालिकामा स्थानीयले अन्य वन्यजन्तुका लागि थापेको पासोमा परेर एउटा चितुवा अलपत्र परेको छ । सिगास गाउँपालिका-२ स्थित धौलाडी, भिमराडीमा गए राति उक्त चितुवा पासोमा फसेको हो ।
डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीका अनुसार, अन्दाजी तीन वर्ष उमेरको उक्त चितुवाको अगाडिको खुट्टा पासोमा अड्किएको छ । घटनाबारे आज बिहान मात्र जानकारी प्राप्त भएपछि सवडिभिजन वन कार्यालय गाजरीको टोली घटनास्थलमा खटिएको छ ।
जिल्लामा वन्यजन्तु उद्धारका लागि आवश्यक दक्ष जनशक्ति र स्रोत–साधनको अभाव हुँदा समस्या देखिएको छ । त्यसैले, चितुवाको सुरक्षित उद्धारका लागि कञ्चनपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाको प्राविधिक टोलीसँग समन्वय भइरहेको वन कार्यालयले जनाएको छ ।