लागुऔषध, बहुविवाह, बैंकिङ कसुरका दोषी

कैलाली प्रहरीको ‘सर्च एण्ड स्विप अपरेसन’ : एकै महिनामा ३४२ फरार प्रतिवादी पक्राउ

काठमाडौँ, मंसिर २९ ।  जिल्ला प्रहरी कार्यालय कैलालीले सञ्चालन गरेको विशेष अभियान ‘सर्च एण्ड स्विप अपरेसन’ निकै प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले मङ्सिर महिनामा मात्रै ३४२ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।

अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका र लामो समयदेखि फरार रहेका व्यक्तिहरूलाई लक्षित गरी प्रहरीले यो अपरेसन चलाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतसमक्ष पेस गरिएको जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक विष्टका अनुसार फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित नभएकाहरूलाई खोज्न जिल्लाभर व्यापक प्रहरी परिचालन गरिएको थियो । यसका लागि जिल्ला प्रहरी कार्यालयसहित मातहतका इलाका प्रहरी कार्यालयहरू मालाखेती, भजनी, टीकापुर, सडकपुर, लम्की, सुखड र चिसापानीबाट छुट्टाछुट्टै टोली खटिएका थिए ।

पक्राउ परेका प्रतिवादीहरू लागुऔषध, बहुविवाह, बैंकिङ कसुर लगायतका विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्तिहरू हुन् ।