नेपालबाट पहिलो पटक उपहार स्वरुप कतार जाँदै दुई हात्ती
काठमाडौँ, मंसिर २९ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र (खोरसोर) मा जन्मिएर हुर्किएका दुई हात्तीका छावालाई कतार पठाउनका लागि आज सौराहामा भव्य बिदाइ गरिएको छ । नेपाल सरकारले कतारलाई उपहारस्वरूप प्रदान गर्न लागेको ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका दुई हात्तीलाई स्थानीय र सरोकारवालाहरूले माला, अबिर र फलफूल खुवाएर बिदा गरेका हुन् ।
बिदाइ लगत्तै हात्तीहरूलाई आजै साँझ ट्रकमा राखेर भैरहवा लगिनेछ । भैरहवामा कतार दूतावासलाई औपचारिक हस्तान्तरण गरेपछि आगामी पुस २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो विमानमार्फत कतारको दोहा उडाइने तालिका रहेको छ ।
विदेश पठाउन लागिएका हात्तीमा ७ वर्षीया पोथी ‘रुद्रकली’ र ६ वर्षीय भाले ‘खगेन्द्रप्रसाद’ रहेका छन् । हात्तीसँगै उनीहरूको रेखदेखका लागि माउतेहरू बुद्धिलाल श्रेष्ठ, पचुखाँ चौधरी र पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाल पनि कतार जानेछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार, उनीहरूले कतारको ‘अलखोर पार्क’ स्थित चिडियाखानामा त्यहाँका माउतेहरूलाई स्याहारसुसारको तालिम दिएर स्वदेश फर्कनेछन् ।
आफ्नै हातले हुर्काएका हात्तीहरू सधैँका लागि विदेश पठाउनुपर्दा प्रजनन केन्द्रका कर्मचारी र माउतेहरू भावुक बनेका छन् । केन्द्रका प्रमुख मनिपुरण चौधरीले भन्नुभयो, “सुत्केरी गराउनेदेखि तालिम दिनेसम्मको काम गरियो, अहिले पठाउँदा नरमाइलो लागेको छ । तर माथिको आदेश र देशको इज्जतका लागि पठाउनु परेको हो ।” रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले पनि चार वर्षदेखिको साथ छुट्न लाग्दा दुःख लागेको बताउनुभयो ।
जैविक विविधता संरक्षण र कूटनीतिक सम्बन्ध विस्तारका लागि नेपालले यसअघि एकसिङ्गे गैँडा, घडियाल गोही र चितुवा उपहार दिँदै आएको थियो । तर, नेपालले आधिकारिक रूपमा ‘हात्ती’ नै उपहार स्वरूप विदेश पठाउन लागेको भने यो पहिलो पटक हो ।
विसं २०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोही वाचा पूरा गर्न र मन्त्रिपरिषद्को गत कात्तिक २ गतेको निर्णय कार्यान्वयन गर्न हात्ती पठाइएको हो । कतारको वातावरणमा हात्ती अनुकूलन हुन सक्ने प्राविधिक अध्ययन पछि यो कदम चालिएको हो ।
वि. सं २०४४ सालमा स्थापना भएको चितवनको हात्ती प्रजनन केन्द्रमा हालसम्म ६८ वटा हात्ती जन्मिएका छन् । हाल नेपालमा सरकारी तवरमा १०५ र निजी क्षेत्रमा ७३ गरी घरपालुवा हात्ती रहेका छन् भने जङ्गलमा ४ सय भन्दा बढी जंगली हात्ती रहेको अनुमान छ ।