३१औँ महानगर दिवस

जनअपेक्षा अनुसार काम भन्दै राष्ट्रपतिबाट काठमाडौँ महानगरपालिकाको प्रशंशा

काठमाडौँ, मङ्सिर २९ । काठमाडौँ महानगरपालिकाले आफ्नो ३१औँ स्थापना दिवस (महानगर दिवस) भव्यताका साथ मनाएको छ । टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महानगरपालिकाले नागरिकको अपेक्षा अनुरुप अग्रणी काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

प्रमुख अतिथि राष्ट्रपति पौडेलले सरकारले जनअपेक्षा पूरा गर्न सके वर्तमान समस्याको निकास निस्कने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक तथा सम्पदा संरक्षण, हरियाली प्रवर्द्धन, एकीकृत सहरी विकास र सेवा प्रवाहमा विद्युतीय प्रणालीको प्रयोग काठमाडौँ महानगरका उदाहरणीय काम हुन् ।” एकल सेवा केन्द्र, गुनासो सुनुवाइ र नागरिकका अधिकार वडा तहसम्म पुर्‍याएर महानगरले स्थानीय सरकार सवल भएको सन्देश दिएको उहाँको भनाइ थियो ।

समारोहमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रमको कार्यान्वयनबाट महानगरवासीले गौरव महसुस गर्ने वातावरण बनेको बताउनुभयो । उहाँले प्रमुख उपलब्धिहरू प्रस्तुत गर्दै सार्वजनिक प्रयोगका लागि २०८ रोपनी जग्गा फिर्ता ल्याइएको र थप १ हजार ८५९ रोपनी फिर्ता गर्ने योजना रहेको, धुलोरहित सडक योजना अन्तर्गत ५५ कि.मि. सडक कालोपत्रे तथा स्तरोन्नति गरिएको बताउनुभयो । यस्तै ६२ वटा चोकमा हाइमास्ट बत्ती जडान गरिएको,  सार्वजनिक खरिद प्रक्रियामा सुधार गरी करिब १ अर्ब २८ करोड रुपियाँ बचत गरिएको,  सामुदायिक शिक्षा सुधार तथा जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको  बताउनुभयो ।

उपप्रमुख सुनिता डंगोलले स्थानीय सुशासन र स्वशासनको अभ्यासको रूपमा महानगर दिवसलाई स्मरण गर्नुभयो । उहाँले असल अभ्यासलाई संस्थागत गर्दै साझेदारहरूको सहकार्यमा पहिचानयुक्त र समावेशी सहर निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता लगायतको उपस्थिति थियो ।

महानगरले राष्ट्रको गरिमा बढाउन योगदान पुर्‍याउने १५ जना विशिष्ट व्यक्तित्वलाई जनही १ लाख रुपियाँ नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेहरूमा साहित्य, संस्कृति, कला क्षेत्रबाट प्रा.डा. चुन्दा बज्राचार्य, ध्रुवचन्द्र गौतम, विजयकुमार पाण्डे (पत्रकारिता), बसुन्धरा भुषाल, प्रकाश सायमी, गोविन्दलाल डंगोल,  शिक्षा, चिकित्सा, समाजसेवा क्षेत्रबाट प्रा.डा. केदारभक्त माथेमा, डा. सञ्जय खड्गी, रञ्जनलाल श्रेष्ठ, खेलकुद क्षेत्रबाट  सोमपाल कामी, जेनिशा विश्वकर्मा, नयना शाक्य, ज्ञानुराजा श्रेष्ठ (पूर्व रेफ्री), रुवी श्रेष्ठ, इन्दु बर्मा हुनुहुन्छ । 

महानगरको गरिमा बढाउन भूमिका खेल्ने जनप्रतिनिधिहरूलाई पनि विभिन्न विधामा १ लाख रुपियाँ नगदसहित सम्मान गरियो । स्थानीय सेवा गौरव पुरस्कारबाट पुरस्कृत हुनुहुनेमा  वडाध्यक्षहरू आशामान संगत (वडा-८), बालकृष्ण महर्जन (१२), राजेशकुमार श्रेष्ठ (१९), राजेश डंगोल (२५) तथा सदस्यहरू केशवप्रसाद श्रेष्ठ (३), हेमज्योती शाक्य (१८) र हरिबहादुर बस्नेत (३२) हुनुहुन्छ । 

सरु अधिकारी (४), शोभा मानन्धर (२०), शान्ता महर्जन (२६) र संगीता पुजारी (२९) साधना सम्मान पुरस्कारबाट पुरस्कृत हुनुभयो । जनकमान श्रेष्ठ स्वशासन पुरस्कारबाट वडा सदस्यहरू सतिश तण्डुकार (१०) र रीना नेपाली (२१) ।

समारोहमा विपद् व्यवस्थापन र सरसफाइमा प्रयोग हुने आधुनिक उपकरणहरूको प्रदर्शनी, सांस्कृतिक झाँकी तथा कवाज प्रदर्शन गरिएको थियो । वि.सं. २०५२ साल मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।