अरनिको राजमार्गको साँगा–धुलिखेल सडक स्तरोन्नति कार्य तीव्र

काभ्रेपलाञ्चोक, ७ पुस । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ। गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एक वर्ष थपिएपछि यो कार्यले गति लिएको हो।

आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भएको थियो र २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो। लामा कन्स्ट्रक्सन प्रालीले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको यस खण्डमा उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।

कन्स्ट्रक्सनका मेनेजर रवीन्द्र श्रेष्ठका अनुसार, साँगा–धुलिखेल खण्डमा समग्रमा ६० प्रतिशत तथा पीचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ। हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किमी र पुलबजार–जनागाल क्षेत्रमा करिब एक किमी सडक कालोपत्रे गरिएको छ भने पीच कार्यलाई तीव्रता दिइएको छ। गत मङ्सिर तेस्रो साता डेढ वर्षदेखि रोकिएको पलुबजार क्षेत्रको करिब तीन सय मिटर सडकको स्तरोन्नति कार्य पुनः सुरु गरिएको थियो।

सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले साँगा–धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र दोस्रो सूर्यविनायक–साँगा खण्डमा भने ४५ प्रतिशत काम सकिएको बताउनुभयो। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा कामलाई तीव्रता दिइएको छ। पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ आठ सय मिटर र चौडाइ १० मिटर कालोपत्रे सम्पन्न भइसकेको छ।

दोस्रो खण्ड सूर्यविनायक–साँगा (७.५ किलोमिटर) विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो। उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ। साँघुरो सडकका कारण बढ्दै गएको ट्राफिक जाम कम गर्न यस सडकलाई छ लेनमा विस्तार गरिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *