बैतडीमा दुई दिनदेखि बेपत्ता साउद मृत फेला: हत्याको आशङ्का, प्रहरी अनुसन्धान सुरु
बैतडी, ११ पुस । बैतडीको शिवनाथ गाउँपालिका–२ सनकोट खालका ५१ वर्षीय देवानसिंह साउद दुई दिनपछि मृत अवस्थामा फेला परेका छन् । गत बुधबारदेखि सम्पर्कविहीन रहेका साउदको शव आज (शुक्रबार) स्थानीय गिठीखोला भिरमा फेला परेको हो ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार बुधबार स्थानीय बजारमा मासु लिन जानुभएका साउद घर नफर्किएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए । साउदको मुखमा निलडाम र टाउकोमा गहिरो चोट देखिएकाले उनको हत्या गरिएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।
घटनाको प्रकृति शङ्कास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक सुरज सिंहको नेतृत्वमा एक टोली घटनास्थलतर्फ पठाइएको छ । प्रहरीले शवको मुचुल्का तयार गरी घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ । मृतक साउदका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।