ठमेलबाट १५ करोड रुपैयाँ बराबरकाे कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
काठमाडौं, १३ मङ्सिर । नेपाल प्रहरीले कोकिनको अवैध कारोबारमा संलग्न दुई विदेशी नागरिकलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८७ वर्षीय कोरियन नागरिक सुक चोन ली र २८ वर्षीय भारतीय नागरिक दीपक उत्तम बाघमारे रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौं महानगरपालिका–१७ जेपी मार्गबाट उनीहरूलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार कोरियन नागरिक लीले पेरुबाट तीन किलो कोकिन काठमाडौं ल्याई भारतीय नागरिकलाई बिक्री गर्न लागेको अवस्थामा पक्राउ परेका हुन् ।
अनुसन्धानका क्रममा लीले हातमा बोक्ने झोलाभित्र लुकाएर कोकिन ल्याएको खुलेको प्रहरीले जनाएको छ । उनी पेरुबाट स्पेन र कतार हुँदै तीन दिनअघि काठमाडौं आइपुगेकी थिइन् । यसअघि पनि गत जुलाईमा नेपाल आएर कोरिया फर्किएको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका भारतीय नागरिकसँग मुम्बई प्रहरीको परिचयपत्रसमेत फेला परेको ब्युरोले जनाएको छ । कोरियन नागरिकबाट तीन किलो कोकिन, एक थान पासपोर्ट र दुई थान मोबाइल बरामद गरिएको छ ।
बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ रहेको ब्युरोले जनाएको छ ।
