सुनको मूल्यमा एकैदिन प्रतितोला २९ सयले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौँ, १८ पुस । केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्यमा साताको अन्तिम दिन शुक्रबार भने ठूलो वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ तोकेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ४ हजार ५२५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि डलरको तुलनामा सुनको भाउ बढेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ ।