यमनमा साउदी नेतृत्वको आक्रमण : ८० पृथकतावादी सैनिकको मृत्यु, १३० बन्धक

काठमाडौँ, पुस २० । यमनमा साउदी अरबको समर्थन प्राप्त सेना र संयुक्त अरब इमिरेट्स (युएई) समर्थित दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का पृथकतावादी सैनिकहरू बिच भएको भीषण लडाइँमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । गत शुक्रबारदेखि सुरु भएको यस सैन्य कारबाही र हवाई आक्रमणमा ठुलो सङ्ख्यामा मानवीय क्षति भएको हो ।

एसटिसीका एक सैन्य अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार, लडाइँमा परी समूहका ८० सैनिकको मृत्यु भएको छ भने १५२ जना घाइते भएका छन् । यसैगरी, १३० जना सदस्यलाई साउदी समर्थित सेनाले बन्धक बनाएको दाबी गरिएको छ ।

साउदी नेतृत्वको गठबन्धनले पृथकतावादीहरूको कब्जामा रहेका सैन्य शिविरहरूलाई लक्षित गरी हवाई आक्रमण गरेपछि हताहतीको सङ्ख्या बढेको हो । साउदी समर्थित सेनाले युएई समर्थित एसटिसीको नियन्त्रणमा रहेका भूभागहरू फिर्ता लिन शुक्रबारदेखि ठुलो सैन्य अभियान सुरु गरेको थियो ।

यो सङ्घर्षले यमनको विभाजित सरकारमा फरक-फरक समूहलाई समर्थन गरिरहेका दुई खाडी सहयोगी राष्ट्रहरू साउदी अरब र युएईबीचको बढ्दो दरारलाई थप प्रष्ट पारेको छ । गत डिसेम्बरमा एसटिसीले संसाधनले सम्पन्न हद्रामावाट र माहरा प्रान्तलाई आफ्नो नियन्त्रणमा लिएपछि रियाद आक्रोशित बनेको थियो ।

शुक्रबार हद्रामावाटको अल-खाशा सैन्य शिविरमा भएको आक्रमणमा २० जनाको ज्यान गएको थियो । यस्तै, शनिबार मुकल्लाको पश्चिममा रहेको बार्सिद शिविरमा साउदी युद्धक विमानहरूले ‘व्यापक’ हवाई हमला गरेको एसटिसीका अधिकारीले बताएका छन् ।

यसैबीच, एसटिसी प्रमुखले हद्रामावाटलाई पुनः कब्जा गर्ने घोषणा गर्नुभएको छ भने साउदी समर्थित सरकारी सेनाले हद्रामावाटको राजधानी मुकल्लामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लगेको छ । छिमेकी माहरा प्रान्तका अधिकारीहरूले भने कुनै प्रतिरोध बिना नै साउदी समर्थित सरकारप्रति आफ्नो निष्ठा व्यक्त गरेको बताइएको छ ।

खाडीका दुई तेलधनी शक्तिहरू बिचको यो प्रभुत्वको लडाइँले यमनको राजनीतिक र सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *