कक्षा ११ र १२ को ललितकला पाठ्यक्रम बारे छलफल : कला र संस्कृतिलाई शिक्षासँग जोड्नु पर्नेमा जोड
काठमाडौँ, पुस २५ । चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा लागू गरिएको ललितकला विषयको नयाँ पाठ्यक्रमको प्रभावकारिता, यसको महत्व र भावी आवश्यकताका सम्बन्धमा सरोकारवालाहरूबीच बृहत् छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, सानोठिमीको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा बिहीबार राजधानीमा ‘ललितकला पाठ्यक्रम’ केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा चित्रकला, व्यावहारिक कला, मूर्तिकला तथा कला इतिहास जस्ता विषयहरू परिमार्जित पाठ्यक्रमअनुसार पठनपाठन भइरहेका छन् । सोही सन्दर्भमा देशभरका विभिन्न विद्यालयका अध्यापकहरूबीच पाठ्यक्रममा देखिएका समस्या र थप गर्नुपर्ने विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षामा कला र संस्कृतिलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ललितकलाको विकासका लागि स्थानीय स्तरका भाषा, इतिहास र मौलिक कलालाई समेट्नु आवश्यक छ, जसमा सांस्कृतिक मूल्य (कल्चरल भ्यालु) को सीमा पनि जोडिनुपर्छ ।”
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले ललितकला देशलाई विश्वमा चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने कार्यमा यो अन्तरक्रियाले ठोस मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले देशभरका ललितकला शिक्षा दिने संस्थाहरूबीचको समन्वयले मात्र यस क्षेत्रको उन्नयन सम्भव हुने बताउनुभयो । यस्तै, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकला शिक्षाको महत्वबारे देशभर जागरण ल्याउन र पठनपाठनलाई सहज बनाउन यस्ता कार्यक्रमले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
छलफलमा पाठ्यक्रम विकास केन्द्रका सहसचिव दीनानाथ गौतम, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर सुजन चित्रकार, सृजना स्कुल अफ फाइन आर्टस्का प्रिन्सिपल डा. बालकृष्ण रञ्जित लगायतले पाठ्यक्रमको प्राविधिक र व्यावहारिक पक्षमा सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, सृजना स्कुल अफ फाइन आर्टस्, सहिद शुक्र मावि, कालिका मानविज्ञान मावि (बुटवल), वागीश्वरी मावि (भक्तपुर), नोबेल एकेडेमी, पिनाकल एकेडेमी लगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले ललितकला शिक्षालाई केवल सैद्धान्तिक मात्र नबनाई प्रयोगात्मक र रोजगारीमुखी बनाउनुपर्ने धारणा राखेका थिए ।