कांग्रेसको विवाद उत्कर्षमा: देउवाको बहिस्कारका बीच आजबाट ‘विशेष महाधिवेशन’ सुरु, भृकुटीमण्डपमा शक्ति प्रदर्शन
काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह प्रस्ट रूपमा सडकमा देखिएको छ । पार्टी संस्थापन पक्षको कडा विरोध र बहिस्कारका बीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘विशेष महाधिवेशन’ सुरु हुँदैछ ।
विशेष महाधिवेशनको उद्घाटन समारोह कांग्रेस काठमाडौँका जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुनेछ । ऐतिहासिक सन्दर्भ जोड्दै व्यवस्थापन समितिले २०१४ सालमा मोरङमा भएको विशेष महाधिवेशनको सिको गरेको जनाएको छ । त्यतिबेला मोरङ सभापतिको हैसियतमा गिरिजाप्रसाद कोइरालाले सभापतित्व गरेका थिए ।
आयोजकले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा पठाएका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि बोलाइएको थियो । तर, संस्थापन पक्षले यो महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै आएकाले सभापति देउवाले आउन अस्वीकार गरेका छन् ।
विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले आजैका मिति (पुस २७) मा जिल्ला सभापति र युवाहरूको छुट्टै भेला बोलाएको छ । यसले कांग्रेसभित्रको शक्ति सङ्घर्ष विभाजनकै तहमा पुगेको सङ्केत गरेको छ ।
आज उद्घाटन सकिएलगत्तै बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिमध्येका ज्येष्ठ सदस्यले गर्ने कार्यतालिका छ ।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका प्रमुख मनोजमणि आचार्यका अनुसार बन्द सत्रको सभापतित्वका लागि दुई जनाको नाम चर्चामा छ:
१. ओमकार श्रेष्ठ: २०१४ सालको पहिलो विशेष महाधिवेशनका प्रतिनिधि ।
२. गोपालमान श्रेष्ठ: पूर्वउपसभापति ।
यी दुईमध्ये एकले बन्द सत्रको कमान्ड सम्हाल्ने आचार्यले जानकारी दिनुभयो ।
किन भइरहेछ विशेष महाधिवेशन?
पार्टीको वर्तमान नेतृत्वले विधान अनुसार काम नगरेको र पार्टीलाई गतिहीन बनाएको आरोप लगाउँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएका थिए । विधानको धारा १७(२) को प्रावधानलाई टेक्दै यो विशेष महाधिवेशन आह्वान गरिएको इतर पक्षको दाबी छ ।
भोलिसम्म चल्ने, आज र्यालीको तयारी
महाधिवेशन सोमबारसम्म चल्नेछ । यसका लागि देशभरका प्रतिनिधिहरू शनिबार नै काठमाडौँ आइपुगेका छन् । उद्घाटन हुनुअघि काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकाल्ने र भृकुटीमण्डपमा जम्मा भएर शक्ति प्रदर्शन गर्ने सचिवालयले जनाएको छ ।
कांग्रेसको यो विशेष महाधिवेशनले पार्टीको भविष्य र आगामी राजनीतिक दिशा कता लैजान्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।