कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज : ९ समूहमा विभाजन गरेर छलफल गरिँदै, यस्तो छ कार्यतालिका
काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसभित्रको विशेष महाधिवेशन पक्षधर समूहले आह्वान गरेको ‘दोस्रो विशेष महाधिवेशन’ को बन्दसत्र आज (सोमबार) बाट सुरु हुँदैछ ।
आइतबार भृकुटीमण्डपमा भव्य उद्घाटन गरिएको महाधिवेशनको सांगठनिक र नीतिगत छलफलका लागि आज बन्दसत्र सञ्चालन हुन लागेको हो ।
विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार बन्दसत्र बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका छ ।
आजका प्रमुख एजेन्डाहरू:
१. कार्यविधि पारित: बन्दसत्रको प्रारम्भमा महाधिवेशन सञ्चालनका लागि तयार पारिएको कार्यविधिमाथि छलफल गरी त्यसलाई पारित गरिनेछ ।
२. समूहगत छलफल: कार्यविधि पारित भएपछि देशभरबाट आएका प्रतिनिधिहरूलाई विभिन्न ९ वटा समूहमा विभाजन गरिनेछ । जसमा सात वटा प्रदेश, काठमाडौँ उपत्यकाको एक समूह र भ्रातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिको एक समूह रहनेछन् ।
३. विषयगत बहस: यी समूहहरूमा पार्टीको नीति, नियम, विधान संशोधनका प्रस्तावहरू र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल हुनेछ ।
ज्येष्ठ सदस्यले गर्नेछन् अध्यक्षता
बन्दसत्रको अध्यक्षता पार्टीका ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ । यसअघि नै सचिवालयले ज्येष्ठ सदस्यको रूपमा ओमकार श्रेष्ठ वा गोपालमान श्रेष्ठमध्ये एकले नेतृत्व गर्ने संकेत गरिसकेको छ ।
संस्थापन पक्षको विरोध र समानान्तर गतिविधिका बीच सुरु भएको यो महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक बाटो र विधान संशोधनका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । देशभरबाट आएका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको दाबी गरिएको यो विशेष महाधिवेशन आज र भोलिसम्म चल्नेछ ।