कांग्रेस विशेष महाधिवेशन : दोस्रो दिन पनि प्रतिनिधि दर्ता जारी, आजै बन्दसत्र सुरु हुने
काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वयको नेतृत्वमा सुरु भएको पार्टीको विशेष महाधिवेशन अन्तर्गत आज दोस्रो दिन पनि प्रतिनिधिहरूको नाम दर्ता कार्य जारी रहेको छ । आइतबारदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन देशैभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता आज बिहानैदेखि पुनः सुरु गरिएको हो ।
महाधिवेशनको पहिलो दिन आइतबार मात्रै कुल दुई हजार ६६२ प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन पक्षधर समूहले दिएको जानकारी अनुसार पहिलो दिन कोशी प्रदेशबाट ४२५, मधेसबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिम प्रदेशबाट १४८ जनाले नाम दर्ता गराएका छन् । यस्तै, काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि दर्ता भएका छन् ।
प्रतिनिधिको चापलाई मध्यनजर गर्दै आयोजकले दर्ताका लागि छुट्टाछुट्टै आठ वटा स्टलको व्यवस्था गरेको छ । विशेष महाधिवेशन जिल्ला क्षेत्र ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार हिजो दर्ता गर्न छुटेका प्रतिनिधिहरूका लागि आज बिहान ८:३० बजेदेखि नै दर्ता प्रक्रिया सुरु गरिएको हो । उक्त दर्ता कार्य आज बिहान ११ बजेसम्म चल्ने संयोजक पाण्डेयले जानकारी दिनुभयो ।
नाम दर्ता प्रक्रिया सकिएलगत्तै आजै विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने कार्यतालिका छ । यद्यपि, बिहान ८ बजेका लागि तय गरिएको बन्दसत्र केही प्राविधिक कारणले ढिलो हुन पुगेको आयोजक पक्षले जनाएको छ । अहिले केही बेरमा बन्दसत्र सुरु गर्ने तयारी भइरहेको छ ।