सविता खनालको उपन्यास ‘कायरा’ सार्वजनिक: सामाजिक सम्बन्ध र नैतिक शिक्षाको परिधिभित्रकाे कथा कायरामा
काठमाडौँ, २८ पुस । विगत दुई दशकभन्दा लामो समयदेखि प्रारम्भिक बालविकास र शिक्षाको क्षेत्रमा समर्पित सविता खनालको नयाँ उपन्यास ‘कायरा’ बजारमा आएको छ।
लेखिका सविता खनालको नवीनतम् उपन्यास ‘कायरा’ को राजधानीमा एक विशेष समारोहका बीच लोकार्पण तथा परिचर्चा भएको हाे । धुम्बाराहीस्थित होटेल स्मार्ट दरबारमा आयोजित कार्यक्रममा साहित्यकार, समालोचक र बौद्धिक व्यक्तित्वहरूले कृतिको विविध पक्षमाथि प्रकाश पारेका थिए ।
एरावती प्रकाशनका संस्थापक अध्यक्ष रामदेव पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘कायरा’ ले नेपाली साहित्यमा समावेशिता र मानवीय संवेदनालाई सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रम साहित्यकार डा. नवराज लम्सालले कृतिमाथि आफ्ना धारणा राख्नुभएको थियो । यस्तै, चाइल्ड नेपालका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका महासचिव साहित्यकार डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) ले कृतिको समीक्षात्मक परिचर्चा गर्दै यसले सामाजिक र साहित्यिक बहसको नयाँ ढोका खोलेको बताउनुभयो । उहाँले ‘कायरा’ उपन्यासले समकालीन नेपाली साहित्यमा नयाँ संवेदना, साहस र आत्मसङ्घर्षका कथाहरूलाई प्रखर रूपमा उजागर गरेको बताउनुभयो ।
कृति लोकार्पणपछि लेखिका खनालले भन्नुभयो, “जीवनका जटिल अनुभूति र आत्मसङ्घर्षलाई कलममार्फत प्रस्तुत गर्न म सधैँ प्रेरित भएँ । आजको युवा पुस्ता, विद्यार्थी, शिक्षक र अभिभावक सबैका लागि यो पुस्तक एउटा ऐना जस्तै हुनेछ ।”
अल्केमी प्रकाशनका घनश्याम खड्काको सभापतित्वमा भएको कार्यक्रममा ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष युनिशा पाण्डे, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त लगायतका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।