‘नसर्ने रोग र मानसिक स्वास्थ्य नदेखिने महामारी हुन्, यसबाट बच्न सावधानी चाहिएको छ’ – उपप्रमुख डंगोल
काठमाडौँ, पुस २८ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, नसर्ने रोग र मानसिक स्वास्थ्य दुवै नदेखिने खालका महामारी भएको बताउँदै यसबाट बच्न जीवनपद्धतिमा सावधानी चाहिएको बताउनुभएको छ । आज नेपाल एनसीडी एलायन्सले आयोजना गरेको दक्षिण एशियाली मुलुकहरुमा नसर्ने रोग र मानसिक स्वास्थ्यप्रतिको उत्तरदायित्व विषयक सम्मेलनमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
नसर्ने रोगको समस्या सहरी क्षेत्रका लागि गम्भीर चुनौती रहेको बताउँदै उहाँले काठमाडौँ महानगरपालिकाले आधारभूत स्वास्थ्य सेवामा यी समस्यालाई समेटेर सेवा दिन थालेको बताउनुभयो ।
यी समस्याहरु व्यक्तिबाट सुरु भएर परिवार, समाज हुँदै देशको स्वच्छ आर्थिक सामाजिक अवस्थाका लागि बाधक बन्छन् । यसका दूरगामी प्रभाव घटाउन सवै साझेदार एकै ठाउँमा बसेर न्यूनीकरणका प्रयास थाल्नु पर्ने उहाँको भनाइ थियो ।
विश्व स्वास्थ्य संगठनले सन् २०२२ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसको अकालमा ज्यान जाने गरेको छ । नसर्ने रोगहरुमा प्रमुख ४ प्रकारमा मुटु, स्वासप्रश्वास, क्यान्सर र मधुमेह रहेका छन् । नेपालमा ४ जना मध्ये १ जनामा उच्च रक्तचापको समस्या देखिन्छ ।
नेपालमा झण्डै २५ लाखको हाराहारी अर्थात् कुल जनसंख्याको ८ दशमलव ५ प्रतिशतमा मधुमेहको समस्या छ । जसमा २७ प्रतिशतको सूर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने विभिन्न रोगबाट मृत्यु हुने गरेको छ ।
अस्वस्थकर खानपान, ट्रासफ्याट युक्त तेलको प्रयोग, तारेका र भुटेका खानाको बढी प्रयोगले नसर्ने रोगको बृद्धि भएको छ । मद्यपान, बोसोयुक्त चिल्लो खाना, चिनी र नूनको अधिक प्रयोगले जोखिम बढेको छ ।