सुनचाँदीको मूल्यमा भारी वृद्धि: सुन तोलामा २ लाख ७६ हजार नाघ्यो
काठमाडौँ, २९ पुस । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। विगत तीन दिनदेखि दुवै धातुको मूल्यमा लगातार तीव्र वृद्धि भइरहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मङ्गलबार) छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार ४ हजार ९९० रुपैयाँ रहेको चाँदी सोमबार ५ हजार १९५ रुपैयाँ पुगेको थियो।
अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य आकाशिएको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ५८८ डलर र चाँदी प्रतिऔँस ८४ डलरमा कारोबार भइरहेको छ।