कांग्रेस विशेष महाधिवेशन: वार्ता विफल भएपछि निर्वाचन प्रक्रिया सुरु, पुरानै विधानअनुसार नेतृत्व चयन हुने

काठमाडौँ, २९ पुस । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन अन्ततः नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ। बालुवाटारमा संस्थापन पक्षसँग भएको वार्ता सहमतिमा पुग्न नसकेपछि विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

विशेष महाधिवेशनको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार नयाँ नेतृत्वको निर्वाचन कांग्रेसको पुरानै विधानअनुसार हुनेछ। महाधिवेशनले नयाँ विधान पारित गरे पनि त्यसलाई निर्वाचन आयोगले प्रमाणीकरण गर्न समय लाग्ने भएकाले हाल प्रचलनमा रहेको विधानअनुसार नै उम्मेदवार मनोनयन र मतदान गराउन लागिएको केसीले स्पष्ट पारे।

पुरानो विधानअनुसार अब १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ।

संस्थापन पक्षले विशेष महाधिवेशनको स्वामित्व लिन र नेतृत्व परिवर्तनका सर्तहरू मान्न अस्वीकार गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको यो समूह निर्वाचनमार्फत नै अघि बढ्ने निर्णयमा पुगेको हो।

निर्वाचन समितिको यो घोषणासँगै भृकुटीमण्डपमा चुनावी सरगर्मी बढेको छ।