निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष आक्रामक: ‘विधिको धज्जी उडाइयो, कुनै हालतमा मान्दैनौँ’
काठमाडौँ, २ माघ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई ‘आधिकारिक कांग्रेस’ को मान्यता दिएपछि शेरबहादुर देउवा पक्ष आक्रोशित बनेको छ ।
देउवा समूहले आयोगको यो निर्णयलाई ‘पूर्वाग्रही’ र ‘अवैधानिक’ भन्दै अस्वीकार गर्ने घोषणा गरेको हाे ।
साबिक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले प्रचलित नियम, कानुन र पार्टीको विधानलाई पूर्ण रूपमा लत्याएको आरोप लगाउनुभयाे ।
आयोगको निर्णय सार्वजनिक भएलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै डा. महतले भन्नुभयो, “निर्वाचन आयोगले सम्पूर्ण नियम-कानुन तथा पार्टीको विधानको धज्जी उडाएको छ । यो निर्णय कुनै पनि दृष्टिकोणबाट सही र न्यायपूर्ण छैन । यसको हामी कडा शब्दमा विरोध गर्छौँ, यो हामीलाई कुनै पनि हालतमा मान्य छैन ।’
आयोगको यो फैसलासँगै अब देउवा पक्षले कानुनी र राजनीतिक दुवै मोर्चाबाट लड्ने सङ्केत गरेको छ । डा. महतका अनुसार अब कसरी अगाडि बढ्ने भन्ने विषयमा देउवा पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
देउवा पक्षले यो निर्णयविरुद्ध सर्वोच्च अदालत जाने वा राजनीतिक रूपमै कडा प्रतिवाद गर्ने भन्ने विषयमा परामर्श थालेको बुझिएको छ । आयोगको यो निर्णयले नेपाली कांग्रेसको आन्तरिक विवाद अब कानुनी जटिलतातर्फ धकेलिएको छ ।