कालीकोटकाे तिला नदी किनारमा खस्यो जिप: तीन जनाको घटनास्थलमै मृत्यु

कालीकोट, ३ माघ । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सेरी–पान्तडी सडकखण्डको सल्लेरीमा उकालो चढ्ने क्रममा जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार भे१ज २८९८ नम्बरको जिप उकालो चढ्ने क्रममा पछाडि (ब्याक) सरेर सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारमा खसेको थियो । जिप नदी किनारमा पुग्दा टुक्रा–टुक्रा भएको अवस्थामा भेटिएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरू सबै सडक निर्माण कार्यमा संलग्न कर्मचारीहरू हुन् । कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार मृत्यु हुनेहरूमा:
१. शङ्कर कठायत (२८ वर्ष): आठबिस नगरपालिका, दैलेख (स्काभेटर अपरेटर)
२. टेकेन्द्र शाही: अछाम (स्काभेटर अपरेटर)
३. नवराज शाही: शुभकालिका–२, कालीकोट (सहचालक)
मृतक तीनै जना सेरी–पान्तडी सडक खन्ने काममा कार्यरत थिए ।

दुर्घटनाको खबर लगत्तै सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल र प्रहरी प्रमुख खत्रीको नेतृत्वमा जनपथ तथा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । भीरबाट शवहरू निकालेर सडकमा ल्याइएको र परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।