निर्वाचन आयोगको मानमर्दन गरेको आरोपमा दुर्गा प्रसाईँमाथि कानुनी डण्डा, कारबाहीका लागि साइबर ब्युरोलाई पत्र

काठमाडौँ, ४ माघ । निर्वाचन आयोगले मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँलाई साइबर कानुन अन्तर्गत कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । आयोगलाई ५२ करोड घुस लिएको निराधार आरोप लगाएर भ्रम फैलाएको ठहर गर्दै आयोगले आइतबार यस्तो निर्णय गरेको हो ।

आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले नेपाली कांग्रेसको गगन थापा नेतृत्वको समूहले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट आधिकारिकता पाएको गम्भीर र विवादास्पद आरोप लगाएका थिए । आयोगले थापा नेतृत्वको विशेष महाधिवेशनलाई मान्यता दिएको भोलिपल्टै प्रसाईँले यस्तो दाबी गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनको मुखमा संवैधानिक निकायको निष्पक्षतामाथि प्रश्न उठाउने गरी भ्रामक अभिव्यक्ति दिएको भन्दै आयोगको आइतबार बसेको बैठकले प्रसाईँमाथि कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

आयोगको उच्च स्रोतले भन्यो, “दुर्गा प्रसाईँले पत्रकार सम्मेलनमार्फत विभिन्न व्यक्ति र संवैधानिक निकायमाथि निराधार आरोप लगाएको जानकारी प्राप्त भयो । निर्वाचनको मुखमा यसरी समाजमा भ्रम फैलाउने र संस्थाको बदनाम गर्नेलाई साइबर कानुन अनुसार कारबाही गर्न प्रहरीलाई पत्र पठाइएको छ ।”

आयोगले प्रसाईँको अभिव्यक्तिले निर्वाचनको वातावरण बिगार्ने र विद्युतीय माध्यमबाट अफवाह फैलाएको भन्दै विद्युतीय कारोबार ऐन (साइबर कानुन) अनुसार अनुसन्धान र कारबाहीका लागि सिफारिस गरेको छ ।

प्रसाईँले केही समयदेखि विभिन्न राजनीतिक दलका नेता र निकायहरूमाथि सार्वजनिक रूपमै कडा र विवादास्पद टिप्पणी गर्दै आएका छन् । निर्वाचन आयोगको यो कदमले अब उनीमाथि कानुनी सङ्कट थपिएको छ ।