सुनको मूल्यमा नयाँ कीर्तिमान: एकैदिन ४ हजार २०० ले बढ्यो, प्रतितोला २ लाख ८२ हजार पुग्यो

काठमाडौं, ५ माघ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ एकैदिन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।

महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ निर्धारण गरेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाली सुन बजारमा यसअघि गत बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनेको थियो। सोमबार सो रेकर्डलाई समेत तोड्दै सुनको भाउले नयाँ उचाइ लिएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। आइतबार प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ। यसअघि गत बुधबार चाँदीको मूल्य प्रतितोला ६ हजार ६५५ रुपैयाँसम्म पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यले दिनप्रतिदिन नयाँ उचाइ लिइरहेको व्यवसायीहरू बताउँछन्।