सुनको मूल्यमा ऐतिहासिक उछाल : एकैदिन १० हजार ४ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार नाघ्यो

काठमाडौं, ७ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन सुनको भाउमा १० हजार ४ सय रुपैयाँको भारी वृद्धि भएपछि मूल्य ३ लाख रुपैयाँको नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ तोकिएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र वृद्धिका कारण नेपाली बजार प्रत्यक्ष प्रभावित भएको महासंघले जनाएको छ । विश्व बजारमा यतिबेला सुनको मूल्य प्रतिऔंस ४ हजार ८५० अमेरिकी डलर नाघेको छ, जसको असर स्थानीय बजारमा देखिएको हो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय आर्थिक अस्थिरता र डलरको मजबुतीका कारण सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षण बढ्दा मूल्यमा यस्तो अस्वाभाविक वृद्धि देखिएको विश्लेषकहरूको भनाइ छ ।