सुनको मूल्यले कायम गर्यो दिनहुँ नयाँ कीर्तिमान, तोलाकै तीन लाख नौ हजार
काठमाडौँ, १२ माघः नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच हजार दुई सयले बढेर रु तीन लाख नौ हजार पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि आइतबार सुन प्रतितोला रु तीन लाख तीन हजार आठ सयमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार पनि सुनको मूल्य रु दुई हजार चार सयले बढेको थियो ।
केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । गत शुक्रबार एकैदिन तोलामा रु नौ हजार दुई सयले बढेर तीन लाख एक हजार चार सय पुगेको सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको हो । गत बिहीबार भने सुन प्रतितोला रु दुई लाख ९२ हजार दुई सय रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला रु छ हजार सात सय ६५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला रु छ हजार चार सय ८० कायम थियो ।