डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धन सस्तियो; पेट्रोल र ग्यासको भाउ भने यथावत

काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः हेरफेर गरेको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो।

निगमका अनुसार डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीमा भाउ बढेर आएकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

उपभोक्ताका लागि राहतको कुरा के छ भने पेट्रोल र एलपी ग्यासको मूल्यमा यस पटक कुनै परिवर्तन गरिएको छैन। आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँले मूल्य बढेर आए पनि निगमले हाललाई पुरानै मूल्य कायम राख्ने निर्णय गरेको छ।

यता, हवाई इन्धनको मूल्यमा भने केही कटौती गरिएको छ। निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ।
अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा पनि काठमाडौँका लागि प्रति किलोलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको छ। पोखरा र भैरहवा विमानस्थलको हकमा भने ‘ब्रेक इभन पोइन्ट’ (नाफा पनि नहुने र घाटा पनि नहुने विन्दु) मा बिक्री मूल्य कायम गरिएको निगमले स्पष्ट पारेको छ।

स्वचालित मूल्य प्रणाली अनुसार आईओसीले प्रत्येक १५–१५ दिनमा पठाउने नयाँ दरका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि नै देशभरका डिपो र बिक्री केन्द्रहरूमा लागू हुनेछ।