ग्यास अभावको हल्ला निराधार: मागभन्दा बढी आपूर्ति भइरहेकाले अनावश्यक सञ्चय नगर्न आयल निगमको आग्रह

काठमाडौं, २१ माघ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुने भन्दै फैलिएको हल्ला निराधार रहेको स्पष्ट पारेको छ। निगमले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यासको आपूर्ति मागको तुलनामा निकै बढी भइरहेको जानकारी दिएको हो।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग रहने गरेको छ। तर, इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पछिल्ला दिनहरूमा मागभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको छ।

पछिल्लो तीन दिनको लोडिङ विवरण यस्ताे छ ।
शनिबार: १ सय १८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिन्डर)
सोमबार: १ सय १५ बुलेट (१ लाख ४५ हजार ७ सय सिलिन्डर)
मंगलबार: १ सय ३२ बुलेट (१ लाख ६७ हजार ३ सय सिलिन्डर)

कार्यकारी निर्देशक भट्टले लोडिङ भएका यी बुलेटहरूमध्ये केही नेपाल भित्रिसकेको र केही बाटोमै रहेको बताएका छन्। उनले आगामी निर्वाचनको अवधिमा पनि आपूर्ति व्यवस्थालाई यसरी नै निरन्तर र सहज बनाइने प्रतिबद्धता व्यक्त गरे।

“बजारमा ग्यासको अभाव छैन, बरु मागभन्दा बढी आपूर्ति भइरहेको छ,” भट्टले भने, “उपभोक्ताहरू अत्तालिएर घरमा अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्नुहोला। अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब मात्र सिर्जना गर्छ।”

केही दिनयता अभावको हल्लाका कारण उपभोक्ताहरू ग्यास डिपोहरूमा लामो लाइन लाग्न थालेपछि निगमले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भ्रममा नपर्न र सामान्य अवस्थामा जस्तै ग्यास खरिद गर्न विशेष अनुरोध गरेको छ।