गुँईठाबारे केपी ओलीको अभिव्यक्ति तोडमोड नगर्न गौरीगञ्जबासीको चेतावनी

गौरीगञ्ज (झापा), २६ माघ । झापाको गौरीगञ्जका बासिन्दाले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गोवर र गुँईठाका सम्बन्धमा दिएको अभिव्यक्तिलाई अनावश्यक रूपमा तोडमोड नगर्न चेतावनी दिएका छन् ।

आइतबार निर्वाचन अभियानका क्रममा अध्यक्ष ओली गौरीगञ्ज पुगेका बेला स्थानीयले गोवरको सही उपयोगबारे दिइएको सुझावलाई केही व्यक्तिहरूले भ्रमपूर्ण ढङ्गले प्रचार गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

गौरीगञ्ज–३ का स्थानीय श्रवण गिरीले भन्नुभयो, “गोवर कृषिका लागि उपयोगी छ र यसलाई गुँईठा बनाएर बाल्नुभन्दा गोवर ग्यास बनाएर प्रयोग गर्दा स्वास्थ्य र वातावरणलाई फाइदा हुन्छ भन्नु वैज्ञानिक कुरा हो । यति सामान्य विषयलाई लिएर कसैले दुष्प्रचार गर्छ भने त्यो गलत हो ।”

गिरीले अध्यक्ष ओलीमाथि आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास गरेको भन्ने आरोपको पनि खण्डन गर्नुभयो । “हुम्लामा मोटरबाटो पुर्‍याउने, दैलेखको ग्यास उत्खनन सुरु गराउने, मदन भण्डारी राजमार्ग विस्तार गर्ने र क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने काम कसले गर्‍यो ?” उहाँले प्रश्न गर्दै भन्नुभयो, “देशभर भएका विकासका कामलाई नजरअन्दाज गरेर साना विषयमा अफवाह फैलाउनु राजनीतिक पूर्वाग्रह मात्र हो ।”

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहनुभएका अध्यक्ष ओली विगत केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाट र घरदैलोमा सक्रिय हुनुहुन्छ । आज उहाँले गौरीगञ्जका विभिन्न टोलहरूमा पुगेर मतदाताका सुझाव सुन्ने र चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *