ग्यासको अभाव छैन, अनावश्यक भण्डारण नगर्नुहोस् : आयल निगमले थप्यो २ हजार मेट्रिक टन कोटा
काठमाडौँ, २६ माघ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरण नियमित रहेकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न आग्रह गरेको छ । आगामी निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई मध्यनजर गर्दै निगमले ग्यासको आपूर्तिलाई अझ सुदृढ बनाएको जनाएको हो ।
निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक पर्ने भन्दा बढी ग्यास खरिद गरेर घरमा नथुपार्न सर्वसाधारणलाई अपिल गरेको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई ध्यानमा राखेर ग्यासको आयात बढाइएको छ । फेब्रुअरी महिनाका लागि निर्धारण गरिएको नियमित कोटामा थप २ हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
“हाल दैनिक औसतमा ११० बुलेट ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको छ,” प्रवक्ता ठाकुरले भन्नुभयो, “आपूर्तिमा कुनै समस्या नभएकाले बजारमा ग्यासको अभाव हुने कुनै सम्भावना छैन ।”
काठमाडौँ उपत्यकामा ग्यास वितरण गर्ने २३ वटा ग्यास उद्योगहरूले अहिले दैनिक करिब ४० हजार सिलिन्डर बजारमा पठाइरहेका छन् । बजारमा ग्यासको सहज उपलब्धता रहेकाले हल्लाको पछि लागेर सिलिन्डर थुपार्ने काम नगर्न निगमले उपभोक्तालाई ढुक्क रहन भनेको छ ।
निगमले बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमनलाई समेत तीव्र बनाइने जनाएको छ ।