सल्यानमा जिप दुर्घटना: चालकको मृत्यु, तीन जना घाइते
सल्यान, २८ माघ । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोटमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
रुकुम पूर्वबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६१ नम्बरको जिप कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ निवासी ३४ वर्षीय विजय विकको घटनास्थलमै मृत्यु भएको कपुरकोटस्थित प्रहरी चौकीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका अन्य तीन जनालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । घाइते हुनेहरूमा दुई महिला र एक बालक रहेका छन् ।