स्वास्थ्य बिमाकाे सुविधा रकममा वर्गीकरण, बहिरङ्गमा २५ हजार: एक लाखकाे सीमा यथावत्
काठमाडौँ, माघ २९ । स्वास्थ्य बिमा बोर्डले बीमित सदस्यहरूले पाउँदै आएको वार्षिक एक लाख रुपियाँ बराबरको उपचार सुविधा नघटाइएको स्पष्ट पारेको छ । बोर्डले बिमा कार्यक्रम अन्तर्गतको कुल सेवाको सीमा यथावत् राख्दै खर्च गर्ने प्रक्रियामा मात्र केही परिमार्जन गरिएको जनाएको हो ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपियाँ योगदान गरेबापत पाउने एक लाख रुपियाँको सुविधा पूर्ववत् नै रहनेछ । तर, अबदेखि उक्त रकममध्ये २५ हजार बहिरङ्ग (ओपिडी) सेवाका लागि र ७५ हजार रुपियाँ अस्पताल भर्ना तथा आकस्मिक उपचारका लागि खर्च गर्न पाउने गरी वर्गीकरण गरिएको छ ।
बोर्डले अनावश्यक ओपिडी प्रयोगलाई निरुत्साहित गर्न र गम्भीर प्रकृतिका रोगहरूको उपचारका लागि स्रोत सुनिश्चित गर्न यस्तो व्यवस्था गरेको जनाएको छ । हाल बिमा बजेटको ७० प्रतिशतभन्दा बढी हिस्सा सामान्य ओपिडी सेवामै खर्च हुने गरेकाले जटिल शल्यक्रिया र गम्भीर रोगको उपचारमा रकम अभाव हुन नदिन यो कदम चालिएको हो ।
यसैगरी, पाँच जनाभन्दा बढी सदस्य भएका परिवारको हकमा प्रतिसदस्य ७०० रुपियाँ थप योगदान गर्दा थप २० हजार रुपियाँ बराबरको उपचार सुविधा प्राप्त हुने प्रावधान पनि यथावत् रहेको बोर्डले जानकारी दिएको छ ।