पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा: विमानस्थलमा समर्थकको भीड, सुरक्षा व्यवस्था अत्यन्त कडा

काठमाडौँ, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो सङ्ख्यामा समर्थकहरूको उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्थालाई निकै चुस्त बनाइएको छ ।

विमानस्थल उत्रिएलगत्तै पूर्वराजा शाहलाई समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आऊ देश बचाऊ’ जस्ता नाराका साथ स्वागत गरेका थिए । उहाँले गाडीको झ्यालबाट हात हल्लाउँदै समर्थकहरूको अभिवादन स्वीकार गर्नुभएको थियो । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले विमानस्थलको भित्री भागमै पुगेर पूर्वराजाको स्वागत गर्नुभएको थियो ।

विमानस्थलबाट पूर्वराजा शाहलाई र्‍यालीसहित उहाँको निवास ‘निर्मल निवास’ पुर्‍याउने तयारी गरिएको छ । राप्रपासहित विभिन्न राजवादी सङ्गठनहरूले र्‍यालीको आयोजना गरेका छन् । समर्थकहरूको बाक्लो उपस्थितिका कारण विमानस्थल क्षेत्रको ट्राफिक व्यवस्था समेत प्रभावित भएको छ ।

र्‍याली र भीडभाडलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका मुख्य चोकहरूमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको जानकारी दिनुभयो । “विमानस्थलदेखि निर्मल निवाससम्मै सुरक्षाकर्मीको विशेष टोली खटाइएको छ ताकि कुनै अप्रिय घटना हुन नपाओस् र आवागमन सुरक्षित होस्,” उहाँले भन्नुभयो ।