पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो : पेट्रोल, डिजेल र मट्टितेल अब कति पुग्याे?
काठमाडौँ, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज (आइतबार) मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
विभिन्न क्षेत्र अनुसार पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य देहाय बमोजिम कायम गरिएको छ:
काठमाडौँ, पोखरा र दिपायल: १५६ रुपैयाँ प्रतिलिटर । सुर्खेत र दाङ: १५५ रुपैयाँ प्रतिलिटर ।
चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज: १५३ रुपैयाँ ५० पैसा प्रतिलिटर ।
यस्तै, डिजेल र मट्टितेलको मूल्यमा पनि प्रतिलिटर ३ रुपैयाँ थपिएपछि सोही अनुपातमा देशभरको मूल्य निर्धारण हुनेछ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको उतारचढावका कारण निगमले स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य हेरफेर गर्दै आएको छ । यस पटक खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।