एमाले उम्मेदवारलाई जिताउन झापामा मुक्ति समाजको सक्रियता: २२ संयोजक परिचालन
बिर्तामोड, झापा, ४ फागुन । आगामी निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरूलाई विजयी गराउन नेपाल उत्पीडित जातीय मुक्ति समाजले झापामा विशेष अभियान सुरु गरेको छ । समाजले जिल्लाका सबै निर्वाचन क्षेत्र र स्थानीय तह समेट्ने गरी २२ जना संयोजकहरूलाई चुनावी कमान्ड सुम्पेको हो ।
आइतबार बिर्तामोडमा सम्पन्न मुक्ति समाजको जिल्लास्तरीय भेलाले निर्वाचन परिचालनका लागि जिल्ला, क्षेत्र र पालिका तहमा समन्वय कमिटीहरू गठन गरेको हो । समाजका जिल्ला अध्यक्ष रमेश गजमेरका अनुसार एमालेका उम्मेदवारहरूको पक्षमा जनमत सिर्जना गर्न र पार्टीको चुनावी एजेन्डालाई तल्लो तहसम्म पुर्याउन यो संरचना निर्माण गरिएको हो ।
भेलाले सोमनाथ पोर्तेलको संयोजकत्वमा १८ सदस्यीय ‘जिल्लास्तरीय प्रचार–प्रसार कमिटी’ गठन गरेको छ । त्यस्तै, झापाका ५ वटा निर्वाचन क्षेत्रहरूमा समन्वयका लागि निम्नुअनुसार संयोजकहरू तोकिएका छन्:
क्षेत्र नं. १:मा निरु परियार, क्षेत्र नं. २: भोला परियार, क्षेत्र नं. ३: रविन गन्दर्भ, क्षेत्र नं. ४: दलबहादुर विश्वकर्मा, क्षेत्र नं. ५: काशी खाती रहेका छन् ।
स्थानीय तहमा कमान्डरहरूको नियुक्ति
जिल्लाका १५ वटै पालिकामा समेत मुक्ति समाजले संयोजकहरू तोकेको छ । जसअनुसार मेचीनगरमा नारायण बराईली, अर्जुनधारामा नारायण दर्जी, बिर्तामोडमा गोपाल लकान्द्री, कनकाईमा गंगा गजमेर, भद्रपुरमा नरेश परियार र शिवसताक्षीमा जीतबहादुर ठटाललाई जिम्मेवारी दिइएको छ ।
यसैगरी गौरादहमा डम्बर विक, दमकमा टिकाराम बयलकोटी, बुद्धशान्तिमा भीम धमला, कचनकवलमा जीवन ठटाल, बाह्रदशीमा गोपाल दर्नाल, हल्दिवारीमा मणिकुमार शंकर, झापा गाउँपालिकामा विनोद बराईली, गौरीगञ्जमा सुनिता पासवान र कमल गाउँपालिकामा हिमा नेपाली संयोजक चयन भएका छन् । यी कमिटीहरूमा स्थानीय जनप्रतिनिधि र वडा सदस्यहरूलाई समेत परिचालन गरिने समाजले जनाएको छ ।
चुनावी अभियानको प्रभावकारिता जाँच्न एमाले केन्द्रीय सदस्य जीतु गौतमको संयोजकत्वमा एक अनुगमन कमिटी गठन गरिएको छ । सो कमिटीको सदस्यहरूमा बिमला विश्वकर्मा, जसमाया गजमेर र मोहन विक रहेका छन् ।
भेलाले एमालेका सबै उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी गराउने संकल्प गर्दै जिल्लाभरि चुनावी माहोल तताउने निर्णय गरेको छ ।