डाँडापारीलाई कफी र जडिबुटीको ‘हब’ बनाउने एमाले उम्मेदवार अमित लामाको घोषणा; पार्टी प्रवेशको लहरले एमाले उत्साहित

काभ्रेपलाञ्चाेक, ४ फागुन । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रको आर्थिक समृद्धिका लागि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्नुभएको छ।

चुनावी घरदैलो अभियानका क्रममा डाँडापारी पुग्नुभएका लामाले खानीखोला र महाभारत क्षेत्रको कायापलट गर्न कफी र जडिबुटी खेतीलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।

उम्मेदवार लामाले खानीखोला र महाभारत गाउँपालिकालाई कफी उत्पादनको ‘पकेट क्षेत्र’ बनाएर यहाँको उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने योजना अघि सार्नुभयो। “डाँडापारीलाई नेपालकै नमुना जडिबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने मेरो सपना छ,” लामाले भन्नुभयो, “यो परियोजना सफल भएपछि गाउँमै रोजगारीका अवसर सिर्जना हुनेछन् र हाम्रा युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य हुनेछ।” उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई पनि उत्तिकै प्राथमिकता दिने बताउनुभयो।

घरदैलो कार्यक्रममा एमालेका समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्वमन्त्री चन्द्र लामा, बागमती प्रदेश कमिटी सदस्यहरू दिलीप लामा, राकेश लामा र चन्द्र लामा, तथा जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा लगायतका नेताहरूको सहभागिता रहेको थियो। टोलीले स्थानीयस्तरमा पुगेर मतदाताका समस्या सुन्दै एमालेको पक्षमा मतदान गर्न आग्रह गरेको छ।

यसैबीच, डाँडापारी क्षेत्रमा एमाले प्रवेश गर्नेहरूको लहर चलेको छ। महाभारत गाउँपालिका–८, घर्तिछापमा आयोजित एक कार्यक्रमका बीच एकीकृत समाजवादीका नेता घनश्याम आलेको नेतृत्वमा ठूलो संख्यामा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्। आले तत्कालीन नेकपा एमाले विभाजनअघि क्षेत्रीय कमिटी उप–सचिव हुनुहुन्थ्यो।

एमाले प्रवेश गर्नेहरूमा कोपिला आले, जानकी आले, टंकबहादुर आले, पञ्चलाल जर्घा, गुणमाया अस्तानी, लोकमाया जर्घा, सुकमान घलान, देवराज घिसिङ, विकमान वाइवा, रमेश लामा, समर्पण वाइवा, जितबहादुर सिंतानेश, नेत्रबहादुर दर्लानी र सुरेश थिङ रहनुभएको छ।

त्यस्तै, महाभारत गाउँपालिका–२ बाट पनि धनकाजी मोक्तान, मानबहादुर घिसिङ र धनबहादुर घिसिङ लगायतका व्यक्तित्वहरू एमालेमा समाहित हुनुभएको छ। प्रभावशाली नेता–कार्यकर्ताहरूको पार्टी प्रवेशले डाँडापारी क्षेत्रमा एमालेको पकड बलियो बनेको र चुनावी नतिजा आफ्नो पक्षमा आउनेमा एमाले पंक्ति उत्साहित देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *