‘तपाईले ओत दिनुभयो, हामी न्यानो साथ दिन्छौं’: दमकको नमुना बस्तीमा अध्यक्ष ओली पुग्दा भावुक बने स्थानीय
झापा । ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार दमक–१ स्थित एकीकृत नमुना बस्तीमा पुग्दा त्यहाँको वातावरण निकै भावुक र उत्साहजनक देखियो । कुनै समय ओत लाग्ने ठाउँ नभएर छटपटिएका भूमिहीन सुकुमबासीहरू आफ्नै पक्की घरको आँगनमा पूर्व प्रधानमन्त्री ओलीलाई स्वागत गर्न पाउँदा खुसीले गद्गद भएका थिए ।
बस्तीका ७८ वर्षीय वृद्ध टेकबहादुर थापाले आफ्नो जीवनमा कति पटक डेरा सरे, त्यसको कुनै हिसाब छैन । जीवनभर मजदुरी गरेर बिताएका थापालाई बुढ्यौली लागेपछि कहाँ ओत लाग्ने भन्ने ठूलो चिन्ता थियो । तर, ६ वर्षअघि एमाले अध्यक्ष ओलीको पहलमा निर्माण भएको पक्की घर पाएपछि उनको जीवन फेरियो ।
ओलीलाई आफ्नो आँगनमा देख्नेबित्तिकै थापाले भावुक हुँदै भन्नुभयो, “हामीलाई यस्तो राम्रो ओत दिनुभयो, अब हामी तपाईलाई सधैंभरि साथ दिनेछौं ।” उहाँ जस्तै अन्य बासिन्दाले पनि ओलीकै कारण आफूहरूले कल्पना समेत नगरेको सुविधायुक्त घरमा बस्न पाएको सुनाए ।
भ्रमणका क्रममा अध्यक्ष ओलीले खुट्टा भाँचिएर ओछ्यान परेकी स्थानीय विष्णुकुमारी विकको घरमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । उहाँले विकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयका समस्याहरू नजिकबाट सुन्नुभएको थियो ।
दमकका सुकुमबासी र अव्यवस्थित बसोबासीको स्थायी व्यवस्थापनका लागि यो एकीकृत नमुना बस्ती अध्यक्ष ओलीकै परिकल्पनामा निर्माण भएको हो । तत्कालिन प्रधानमन्त्री हुँदा ओलीले नै १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गराई यस बस्तीको शिलान्यास र उद्घाटन गर्नुभएको थियो ।
बस्तीमा :आवास: २३ परिवार भूमिहीनका लागि आधुनिक पक्की घर । पूर्वाधार: बिजुली, खानेपानी, शौचालय र ढल निकासको पूर्ण व्यवस्था । सुविधा: बस्ती भित्र ब्लक बिछ्याइएको पक्की सडक र हरियाली वातावरण ।
सुकुमबासी व्यवस्थापनका नाममा डोजर चलाउने र अमानवीय व्यवहार गर्ने प्रचलन बढिरहेका बेला दमकको यो नमुना बस्तीले नयाँ सन्देश दिएको छ । “सहरबाट गरिबलाई होइन, गरिबीलाई हटाउनुपर्छ” भन्ने मान्यतालाई यस बस्तीले चरितार्थ गरेको छ ।
दमक–१ को सफलतापछि अहिले वडा नं. ७ मा पनि यस्तै प्रकारको एकीकृत बस्ती निर्माण गरिएको छ । सुकुमबासी व्यवस्थापनको यो मोडल देशभरकै लागि एउटा अनुकरणीय र उत्कृष्ट उदाहरण बनेको छ । चुनावी अभियानको क्रममा आफ्नै निर्वाचन क्षेत्रमा रहेका अध्यक्ष ओलीको यो भ्रमणले स्थानीय मतदातामा थप उत्साह थपेको छ ।