मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ : निर्वाचन बिथोल्ने आशंकामा भक्तपुर निवासबाटै प्रहरीले लियो नियन्त्रणमा
काठमाडौँ, ४ फागुन । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित उहाँकै निवासबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार प्रसाईंलाई नियन्त्रणमा लिएको हो। परिसरका एक उच्च अधिकारीका अनुसार प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
प्रहरीले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी प्रसाईंले ‘निर्वाचन विरोधी’ र ‘विध्वङ्सात्मक’ गतिविधि सञ्चालन गर्न लागेको आशंका गरेको छ। निर्वाचन बिथोल्ने उद्देश्यले विभिन्न अभियान र उत्तेजक गतिविधि सुरु गर्न लागेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।्
पछिल्लो समय प्रसाईं प्रहरीको निरन्तर निगरानी र नियन्त्रणमा पर्दै आउनुभएको छ: यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले निर्वाचनका बारेमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर बयान लिएपछि हाजिर जमानीमा छाडेको थियो।
सोभन्दा अघि माघ ५ गते पोखराबाट समेत उनी पक्राउ परेका थिए, जहाँ उनलाई सामान्य सोधपुछ र बयानपछि छाडिएको थियो।
प्रसाईंले पछिल्लो समय सार्वजनिक सभा र सामाजिक सञ्जालमार्फत वर्तमान व्यवस्था र निर्वाचन प्रक्रियाप्रति कडा र विवादास्पद टिप्पणी गर्दै आउनुभएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै प्रशासनले उनीमाथि निगरानी बढाएको हो। उनीमाथि कुन मुद्दामा अनुसन्धान अघि बढाइने भन्नेबारे प्रहरीले औपचारिक जानकारी दिन बाँकी छ।