झापा–५ का २९ वटै वडामा एमालेको चुनावी प्रचार तीव्र, ओलीको गृहक्षेत्रमा घरदैलो सुरु
झापा, ५ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नं. ५ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । एमालेले अध्यक्ष ओलीको गृहक्षेत्र मानिने यस निर्वाचन क्षेत्रका २९ वटै वडामा एकसाथ चुनावी प्रचारप्रसार अभियानलाई तीव्र बनाएको हो ।
पार्टी अध्यक्ष ओलीको बाक्लो उपस्थिति र सक्रियतासँगै यहाँका सबै वडामा निर्वाचन परिचालन तथा प्रचार समितिहरू पूर्ण रूपमा क्रियाशील बनेका छन् । निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक नगरपालिकाका १० वटै वडा, कमल गाउँपालिकाका ७ वटै वडा तथा गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका केही वडाहरू पर्दछन् ।
निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालले क्षेत्रका सबै २९ वडामा प्रचार संयन्त्र परिचालित भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडामा प्रचार–प्रसार समिति सक्रिय भई घरदैलो अभियान, टोल भेला र विभिन्न समूहसँगको छलफललाई सघन बनाइएको छ ।
चुनावी प्रचार समितिका संयोजक एवं केन्द्रीय सदस्य ईन्द्र भण्डारीले एमालेको सांगठनिक संरचना र अध्यक्ष ओलीको व्यक्तिगत प्रभावका कारण जनसहभागिता उल्लेख्य देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान र ओली नेतृत्वको सरकारले सुरु गरेका दीर्घकालीन महत्त्वका विकास योजनाका कारण मतदाताहरू एमालेको पक्षमा देखिएका छन् ।”
भण्डारीका अनुसार विपक्षीहरूले सिर्जना गरेका भ्रमलाई नागरिक स्तरबाटै चिर्ने काम भइरहेको छ । स्थानीय पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको विकासले मतदातालाई आकर्षित गरेको एमालेको दाबी छ ।
एमाले प्रदेश कमिटी सदस्य अमर शिवाकोटीका अनुसार दक्षिण झापाका वडाहरूमा पनि प्रचारप्रसारले गति लिएको छ । “कतै चोक–बजारमा झण्डा राखेर उपस्थिति देखाइएको छ भने कतै बाजागाजा र नाचगानसहित घरदैलो सुरु भएको छ,” शिवाकोटीले भन्नुभयो ।
अभियानमा महिला, बुद्धिजीवी, युवा तथा विद्यार्थी लगायतका जनवर्गीय संगठन र अलग–अलग प्रचार समितिहरू समेत सक्रिय रूपमा परिचालित भएका छन् ।