कोराभित्र उम्मेदवार पिता, घरदैलोमा छोरीहरू : मोरङ–६ मा देखिएको भावुक चुनावी दृश्य
विराटनगर, ४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं. ६ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । तर, नेकपा (एमाले) का उम्मेदवार विनोद ढकाल भने पितृशोकका कारण चुनावी मैदानमा भौतिक रूपमा उपस्थित छैनन् ।
उम्मेदवार ढकाल हिन्दु परम्परा अनुसार ‘कोरा’ भित्र रहँदा उनका दुई छोरीहरू भने बुबाको सारथी बन्दै घरदैलो अभियानमा होमिएका छन् ।
१०१ वर्षीय बुबा विष्णुप्रसाद ढकालको निधनपछि उम्मेदवार ढकाल १३ दिने काजक्रियामा छन् । एकातिर पितृशोक र अर्कोतिर फागुन २१ गते हुने निर्वाचनको दायित्वबीच उनी अहिले सेतो वस्त्र धारण गरेर कोरामा छन् । उम्मेदवार आफैं उपस्थित हुन नसक्दा प्रचारप्रसार सुस्त हुने अनुमानविपरीत उनका छोरीहरूले बुबाको अभियानलाई तीव्रता दिएका छन् ।
ढकालका दुई छोरीहरू– सुरभी र सौरभीले बुबाको अनुपस्थितिलाई खड्किन दिएका छैनन् । इटालीबाट ‘सस्टेनेबल नेचुरल रिसोर्स म्यानेजमेन्ट’ मा स्नातकोत्तर गर्दै गरेकी जेठी छोरी सुरभी र बीएलएलबी सकेकी कान्छी छोरी सौरभी बिहानै बुबाको आशीर्वाद र प्रतिबद्धता पत्र लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उनीहरूले मतदातासँग भनिरहेका छन्, “हाम्रो बुबा अहिले तपाईँहरूको आँगनमा आउन सक्नुभएन, उहाँको तर्फबाट हामी आएका छौं । उहाँको सपना पूरा गर्न साथ दिनुहोला ।”
घरदैलोका क्रममा मतदाताले “विनोद दाइ खोइ ?” भनेर सोध्दा छोरीहरूले विनम्रतापूर्वक बुबा किरियामा रहेको जानकारी गराउँछन् । यो दृश्यले विपक्षी आस्था राख्ने मतदाताको मन समेत पग्लिने गरेको छ ।
“बिचरा बाबुको किरिया बारिरहेको घर, छोरीहरू यसरी भोट माग्न हिँडेका छन्, धर्म पनि नछोड्नु, कर्म पनि नछोड्नु भनेको यही हो,” एक स्थानीय वृद्धाले आँसु पुछ्दै भनिन् । मतदाताहरूले यसलाई केवल राजनीतिक प्रचारभन्दा पनि छोरीहरूको साहस र पारिवारिक संस्कारका रूपमा लिएका छन् ।
शारीरिक रूपमा उपस्थित हुन नसके पनि उम्मेदवार ढकालले कोराभित्रैबाट भिडियो सन्देशमार्फत मतदातालाई सम्बोधन गरेका छन् । उनले भनेका छन्, “म शारीरिक रूपमा तपाईँहरूको माझमा आउन नसके पनि मेरो मन तपाईँहरूसँगै छ । बुबाको शोक र तपाईँहरूको माया दुवै मेरा लागि उत्तिकै महत्त्वपूर्ण छन् ।”
बुबाको राजनीतिक परीक्षामा छोरीहरू ‘सारथी’ बनेको यो दृश्यले मोरङका मतदातामाझ राजनीति भनेको भाषण मात्र होइन, संवेदना, सम्बन्ध र संस्कार पनि हो भन्ने सन्देश प्रवाह गरेको छ ।