अध्यक्ष ओलीसमक्ष झापाका मतदाताको माग– ‘सिँचाइ सुविधा र विराट बुद्धमूर्ति’
दमक, ५ फागुन । झापा निर्वाचन क्षेत्र नं. ५ का मतदाताले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सिँचाइ सुविधा विस्तार र निर्माणाधीन बुद्धमूर्तिको कामलाई तीव्रता दिन माग गरेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओली मंगलबार चुनावी प्रचारप्रसार तथा मतदाता भेटघाटका क्रममा दमकको उत्तरी क्षेत्र पुग्दा स्थानीयवासीले यस्तो माग राखेका हुन् ।
दमक–३ स्थित दुम्सेमा आयोजित भेटघाटमा स्थानीय डिकेन्द्र घिमिरेले ओलीकै पहलमा विगतमा सडक, विद्युत् र खानेपानीको सुविधा गाउँसम्म आइपुगेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “हिजोका दिनमा आधारभूत विकासका पूर्वाधार हजुरकै प्रयासमा सम्भव भयो, अब सिँचाइ लगायतका बाँकी काम पनि हजुरकै नेतृत्वमा पूरा हुनेमा हामी पूर्ण विश्वस्त छौँ ।”
भेटघाटका क्रममा स्थानीयले दमकको उत्तरी भेगमा निर्माण प्रक्रियामा रहेको ‘विराट बुद्धमूर्ति’ सहितको पार्क निर्माणलाई गति दिन विशेष आग्रह गरेका छन् ।
दमकको दक्षिणी क्षेत्रमा निर्माणाधीन औद्योगिक पार्क, मध्य भागमा रहेको भ्युटावर र उत्तरी भेगमा बन्ने बुद्धमूर्तिसहितको पार्कले दमकलाई दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय औद्योगिक र पर्यटकीय सहरका रूपमा चिनाउने स्थानीयको विश्वास छ । यी तीन ठूला आयोजनाले दमकको मुहार फेर्ने अपेक्षा मतदाताले राखेका छन् ।
अध्यक्ष ओली सोमबारदेखि नै गृहजिल्ला झापामा मतदातासँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । सोमबार विभिन्न वडा र टोलमा पुग्नुभएका ओलीले आज (मंगलबार) पनि दमकका विभिन्न स्थानमा घरदैलो, भेटघाट र छलफललाई तीव्रता दिनुभएको छ ।