दमकको भ्युटावर देखाउँदै स्थानीयले ओलीलाई भने– ‘विकास देखिनसहने शत्रु लागे’

दमक, ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ को दमक–३ पुग्दा स्थानीयवासीले भावुक हुँदै विकास विरोधी गतिविधिप्रति गुनासो पोखेका छन् ।

चर्चित ‘भ्युटावर’ अर्थात् बिजनेस कम्प्लेक्स रहेको उक्त क्षेत्रमा घरदैलोका क्रममा पुग्नुभएका अध्यक्ष ओलीसँग स्थानीयले तोडफोड र आगजनीको घटना सम्झिँदै देशमा विकास विरोधी ‘शत्रु’ लागेको टिप्पणी गरेका हुन् ।

स्थानीय विष्णुकान्त न्यौपानेले क्षतिग्रस्त भ्युटावरतर्फ देखाउँदै भन्नुभयो, “हाम्रा आँखै अगाडि रातभरि झललल बल्ने यस्तो भव्य धरहरा र बिजनेस कम्प्लेक्स थियो । यसलाई हुलहुज्जत गरेर तोडफोड गरी जलाइयो । अहिले त यो गाउँ नै अन्धकार जस्तो भएको छ ।”

न्यौपानेसँगै रहनुभएकी स्थानीय सरस्वती न्यौपानेले पनि आक्रोश र पीडा मिश्रित भावमा भन्नुभयो, “हजुर, यो देशमा शत्रु लागे । यस्तो राम्रो भवन जलाइदिए । उता काठमाडौँमा पनि उसै गरे । हाम्रो देशमा किन यस्तो भइरहेको छ ?” मतदाताको यो प्रश्न र गुनासोले अध्यक्ष ओलीलाई केहीबेर गम्भीर बनाएको थियो ।

स्थानीयवासीले बिजनेस कम्प्लेक्स सर्वसाधारणका लागि खुला भएसँगै गाउँमा व्यावसायिक र आर्थिक चहलपहल बढेको अनुभव सुनाए । तर, केही समयअघि भएको तोडफोड र आगजनीका कारण रोजगारी र आम्दानीका स्रोतहरू बन्द भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । दमक–३ का बासिन्दाले उक्त संरचनालाई तत्काल मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउन अध्यक्ष ओलीसँग माग गरेका छन् ।

सोमबारदेखि नै गृहजिल्ला झापामा रहनुभएका अध्यक्ष ओली मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।