हिमाली समुदायको महान् पर्व ‘ग्याल्पो ल्होसार’ आज: नयाँ वर्षको स्वागत गरि मनाइँदै

काठमाडौँ, ६ फागुन । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले आज आफ्नो महान् सांस्कृतिक पर्व एवं नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’ विविध कार्यक्रम गरी उल्लासका साथ मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ हुन्छ, जसअनुसार यो पर्वलाई शेर्पा समुदायले नयाँ वर्षको आगमनका रूपमा मनाउने गर्छन् ।

भोट–चन्द्र पात्रो (चन्द्रमास गणना) अनुसार फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन मनाइने यस पर्वले हिमाली जनजीवन, संस्कृति र धार्मिक आस्थालाई जोड्ने काम गर्दछ ।

पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घर, टोल र आसपासका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने प्रचलन छ । यस दिन विशेष गरी नौ प्रकारका अन्न मिसाएर बनाइएको परिकार ‘गुथुक’ र मैदाबाट बनाइएको ‘खाप्से’ खाने गरिन्छ । गुथुक खानुलाई स्वास्थ्य र समृद्धिको प्रतीक मानिन्छ भने खाप्सेले पर्वको रौनकता बढाउँछ ।

आपसमा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्वलाई पारिवारिक मिलन र सामाजिक सद्भाव अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ ।

ल्होसारका अवसरमा बौद्ध धर्मावलम्बीहरूले स्थानीय गुम्बाहरूमा पुगेर पूजापाठ गर्ने र धर्मगुरु तथा लामाहरूबाट आशीर्वाद लिने गर्दछन् । स्याब्रु नृत्य र तुङ्गना (डम्याङ) को मधुर धुनमा झुम्दै समुदायका मानिसहरूले सामूहिक खुसी साटासाट गर्छन् । यसले हिमाली भेगको मौलिक पहिचानलाई विश्वमाझ चिनाउन सहयोग पुगेको छ ।

नयाँ वर्षका रूपमा मनाइने यो पर्वले समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावनालाई अझ बलियो बनाउने विश्वास गरिन्छ । नयाँ आशा र उमङ्ग बोकेर आउने ल्होसारले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्यको वातावरण सिर्जना गर्ने संस्कृतिविद्हरूको भनाइ छ । काठमाडौँको बौद्ध, स्वयम्भू लगायतका क्षेत्र र मुलुकका उच्च हिमाली जिल्लाहरूमा आज बिहानैदेखि ल्होसारको विशेष चहलपहल देखिएको छ ।