टिपरको ठक्करबाट स्कुटर चालकको मृत्युपछि बनेपा तनावग्रस्त, आक्रोशित भीडद्वारा टिपरमा आगजनी

काभ्रेपलाञ्चाेक,६ फागुन । अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ।

बुधबार बिहान बनेपास्थित नेपाल दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ भने स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन्। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दा र पैदलयात्रीले ठक्कर दिने टिपरमा आगजनी गरेका छन्। भीडले टिपर जलाउन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो, जसक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ।

अहिले आक्रोशित स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। राजमार्ग बन्द हुँदा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। स्थितिलाई सामान्य बनाउन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।